गोरखामा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु

१९ असार २०८०, मंगलवार १५:२१

काठमाण्डौ, १९ असार– गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ४१ वर्षीय मिना बराम रहेकी छन जंगबहादुर बरामको निर्माणाधीन धन्सार भत्किंदा उनकी श्रीमती मिना बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन ।

उनले भने, ‘निर्माणाधीन धन्सारको तला छाप्ने क्रममा एक्कासी भत्किएर उहाँहरु च्यापिन पुग्नु भएछ,’ ‘त्यसपछि त्यहाँ रहेका छिमेकी र आफन्तहरुले उद्धार गर्नुभएको खबर प्राप्त भएको छ ।’

धन्सार भत्किंदा जंगबहादुरका छोरा २१ वर्षीय सुजन बराम र काम गर्न गएका छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । गम्भीर घाइते भएका रामकृष्णलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले बताएको छ । उनको कम्मरमुनिको भाग ढुङ्गाले च्यापेको प्रहरीले जनाएको छ ।

छोरा सुजनको अवस्था भने सामान्य रहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन ।घटना अन्दाजी बिहान ९ बजे भएको हो । घटनाको जानकारी आउने बित्तिकै ताङ्लीचोक प्रहरी चौकीबाट घटिएको टोली अहिले घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन ।