संसदीय समितिको नेतृत्वबारे पहिलेकै सहमति कार्यान्वयन हुन्छ: धनराज गुरुङ

१९ असार २०८०, मंगलवार १४:२५


काठमाण्डौ, १९ असार– प्रतिनिधि सभाका सभामुख देवराज धिमिरेको आह्वानमा आज (मंगलबार) बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको छ ।

यसअघि शीर्ष नेताहरुबीच सार्वजनिक लेखा समितिसहित तीन संसदीय समितिको सभापति प्रमुख प्रतिपक्षी नेकपा एमालेले लिने र बाँकी सत्ता गठबन्धनबीच बाँडफाँट गर्ने सहमति भएको सार्वजनिक भएको थियो ।

संसदीय समितिको सभापतिमा पुरानै सहमति कार्यान्वयन गर्ने शीर्ष तहमा सहमति भएको बैठकमा सहभागी कानुन मन्त्री धनराज गुरुङले जानकारी दिएका छन । उनले भने, ‘पहिलेकै सहमति कार्यान्वयन हुन्छ ।’

सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल न एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी थिए ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरेका थिए ।