धनुषा, १९ असार– जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल र मृतक पक्षबीच मिलापत्र गरेपछि यो घटना साम्य भएको छ ।
आइतबार बिहान पपु राउतको अत्याधिक पेट दुखेपछि १० बजे अस्पताल भर्ना गरिएको थियो । सोमबार साँझ उपचारको क्रममा उनको मृत्यु भएको थियो । त्यसपछी मृतकका आफन्तले हस्पिटलमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त स्थिती बनेको थियो । अस्पताल परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । तोडफोडबाट सामान्य क्षति भएको अस्पतालका सञ्चालक डा. अशोक अधिकारीले बताए ।
परिवारजनले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । मध्यराति उपचार खर्च मिनाहा र पाँच लाख रुपैयाँ अस्पताल पक्षले उपलब्ध गराउने सहमति भएपछि आफूहरुले शव बुझेको मृतकका जेठान दीपक पटेलले बताए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।
भर्ना भएकै बेलादेखि समय समयमा चिकित्सक र नर्सले बेवास्ता गरेको र यहीँ ठीक हुन्छ भन्दै अरु अस्पतालमा लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप थियो ।
