पोखरा–बागलुङ सडकखण्ड पहिरो खस्दा अवरुद्ध

१९ असार २०८०, मंगलवार ११:११

बागलुङ, १९ असार– धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा रातिदेखि सडक अवरुद्ध बनेको हो ।

भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको छ । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । निरन्तरको वर्षाका कारण सडक खुलाउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन् । अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ ।