काठमाण्डौ, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन ।
उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा पनि दिएका छन । आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्न पनि बताएका छन ।
नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिएका छन ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरेका छन ।
प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै वाइसिएलका इञ्चार्ज सापकोटाले भने, ‘माओवादी केन्द्रको एजेण्डा अरुले खोस्ने जस्तो अवस्था देखा पर्यो । भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखा परे ।
नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखियो । यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको छ । यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प छैन, ।
नयाँ तरिकाको क्रान्तिबाटै पार्टी पनि नयाँ आधारमा विस्तार हुने उनको भनाइ थियो । सरकारको कामको प्रचारप्रसार गर्न र नकारात्मक कामको आलोचना गर्न प्रधानमन्त्री दाहालले वाइसिएललाई आग्रह गरेका छन ।
