काठमाण्डौ, १८ असार– परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने बताएका छन ।
आज (सोमबार) नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री प्रचण्डको चिन भ्रमणबाट नेपालले लाभ लिने बताएका छन ।
उनले भने, ‘चीन र भारतको इमर्जिङ इकोनोमीबाट हामी प्रतिफल लिन सक्दछौँ। लाभ लिन सक्दछौँ। त्यो लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुनेछ।
सार्थक हुनेछ। यो विश्वास म तपाईंहरुलाई व्यक्त गर्न चाहन्छु ।’ साउदले चीन महाशक्ति राष्ट्रको रुपमा इमर्जिङ भएर अगाडि बढिरहेको बताएका छन ।
उनले भने, ‘चीनको त्यो विकासको छलाङलाई पनि नेपालको सन्दर्भमा सकारात्मक उपयोग गर्नु उपयुक्त हो ।’ साउदले प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा ऐतिहासिक उपलब्धिहरु गरेको बताएका छन ।
उनले भने, ‘हाम्रो जल शक्तिको निर्यातको प्रत्याभूति दिने र कुनै देशमा सम्झौता भएको थिएन। अहिले पहिलोचोटि भारतले १० हजार मेगावाट बिजुली दशभित्र किन्न तयार छ भनेर हामीसँग एमओयू गरेको छ।
विद्युत बेच्ने बजार उपलब्ध भइसकेको छ। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ, त्यो हाम्रो चुनौती छ ।’
