काठमाडौं, १८ असार – अहिलेको गठबन्धन जनता जागाउने नभएर सत्ता जोगाउने गठबन्धन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले टिप्पणी गरेका छन् ।
(हिजो) आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै सांसद लामिछानेले ठूला दलहरुले सत्ता टिकाउनका लागि गठबन्धनभित्र पनि गठबन्धनको अभ्यास गरिरहेको समेत टिप्पणी गरे ।
उनले भने, “राष्ट्रिय एकताको कुरा गरिरहेका छन् अहिले दलहरु, अहिले ठूला दलहरु गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेका छन् । के को गठबन्धन बनाएको रहेछ भनेको सत्ता जोगाउनका लागि गठबन्धन । जनता जोगाउने गठबन्धन होइन, सत्ता जोगाउने गठबन्धन हो त्यो ।”
यस्तै उनले रास्वपा प्रवेश गर्नेको संख्या बढिरहेको उल्लेख गर्दै इमान बोकेर आउनेहरुका लागि मात्रै पार्टीको ढोका खुल्ला रहेको बताए । “यो पार्टीमा सहभागी हुन सबैका लागि ढोका खुल्ला छ, उनले भने हाम्रो मनको ढोका पनि खुल्ला छ । तर, इमान बोकेर आउने साथीलाईमात्र खुल्ला हो । बेइमानी छातिमा बोकेर आउनेहरुका लागि पार्टीको ढोका खुल्ला होइन।”
