काठमाण्डौ, १८ असार– बागमती प्रदेशमा प्रदेश सभा बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति जुटेको छ । बजेटमा असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाको मागलाई बजेटमा सम्बोधन गर्ने सत्तारुढ दलले प्रतिबद्धता जनाएसँगै बैठक आजदेखि प्रदेश सभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।
बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेल, अर्थमन्त्री बहादुर सिंह लामा, माओवादीका मुख्य सचेतक रत्न ढकाल तथा राप्रपा दलको नेता उद्धव थापा सहभागी रहेका थिए ।
बैठकमा एमालेले आफ्नो बजेटबारे योजना लिखित रूपमा सरकारलाई प्रस्तुत गर्ने र सरकारले त्यसलाई बजेटमा समावेश गर्ने सहमति भएको सो बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।
सहमतिसँगै आज २ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । यसअघि प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेको थिएन ।
यसअघि गएको बिहीबार पनि विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
