अन्तर्जातीय विवाहको कारण जलाइयो केटाको घर

१८ असार २०८०, सोमबार ११:१७

जुम्ला, १८ असार– जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटाको घर आगो लगादिएका छन् ।

हिजो (आइतबार) बिहान जुम्लाको तातोपानी गाउँपालिका ४ गिदीखोलास्थित भरत नेपालीको घरमा केटी पक्षले आगजनी गरेका हुन्। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीका अनुसार गिरीलाई आइतबार राति नै पक्राउ गरिएको हो। हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।

आइतबार नै भरतले गिरीविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए। भरतले उक्त घर चार वर्षअघि बनाएका थिए। तर उनी जुम्ला बजारमा बस्छन्। उक्त घरमा भरतका साइँला भाइ तिर्थ र मुकुन्द बस्थे। तिर्थ कामको सिलसिलामा शनिबार जुम्ला बजारमा गएका थिए।

घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो। भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।

‘भाइले भगाएको भन्ने खबर पनि हामीलाई केटी पक्षले नै दिएको थियो। हाम्रो सम्पर्कमा दुबै छैनन्,’ भरतले भने, ‘केटी पक्षको सम्पर्कमा भने छन्। अन्तर्जातीय विवाह गरेकै कारणले उनीहरूले आगजनी गरिदिएका हुन्।’

तातोपानी ४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाका अनुसार आइतबार बिहान २–३ बजे नै आगलागी सुरू भएको थियो। तरछिमेकीले ढिलो गरीमात्रै थाहा पाएका थिए।

‘अन्दाजी २ बजेतिर आगलागी भएको हुनुपर्छ। बिहान ४(५ बजेतिर मात्रै थाहा भयो,’ वडाध्यक्ष रोकायाले भने, ‘छिमेकी शौचालय जानलाई निस्किँदा घर जलिरहेको थाहा भयो।’