विभाजनको समीक्षा गरेर फेरि नेकपातिरै फर्किनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

१७ असार २०८०, आईतवार १२:४४

काठमाण्डौ, १७ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेकपा एमाले सँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन ।

उनले त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि बताएका छन । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको पनि बताएका छन । उनले देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं ।

हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’ उनले त्यो एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘आज हामीले फेरि एकपटक चिन्तन गर्नुपर्यो कि हिजो एकीकृत भएको कम्युनिष्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटी थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्दछ ।’

उनले समाजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि बताएका छन ।

उनले भने, ‘माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माधव जी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्दछ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं ।’