मरिणमा धान दिवसको अवसरमा रोपाइँ महोत्सव, संघिय सांसद लेखनाथ दाहालले धान रोपे

१५ असार २०८०, शुक्रबार १६:५६

काठमाण्डौ, १५ असार– सिन्धुलीको मरिण गाउँपालिकामा २० औं राष्ट्रिय धान दिवसको अबसरमा रोपाइँ महात्सवको आयोजना गरेको छ ।

मरिण गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तान प्रख्यातको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालको प्रमुख आथित्यतामा रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अथिति लेखनाथ दाहालले मरिण क्षेत्रमा नमूना कृषि उत्पादन क्षेत्र बनाउन पहल गर्ने बताएका छन । उनले मरिण क्षेत्र खेति योग्य जमिन, प्रयाप्त सिँचाईको व्यवस्था भएको क्षेत्र भएकोले यस क्षेत्रमा सामूहिक खेति प्रणाली मार्फत नमूना कृषि उत्पादन क्षेत्र बनाउने बताएका छन ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले मरिण क्षेत्रलाई धान उत्पादन पकेट क्षेत्र र घ्याङलेख गाउँपालिकालाई तरकारी उत्पादन पकेट क्षेत्र घोषणा गरिएको बताएका छन ।

मन्त्री श्रेष्ठले मरिण क्षेत्रमा धान उत्पादनको राम्रो सम्भाव्यता रहेकोले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजना निर्माण भई रहेको बताएका छन ।