संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान हुँदैन: गणेश तिमिल्सना

१५ असार २०८०, शुक्रबार १५:२४

काठमाण्डौ, १५ असार– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन ।

उनले लामो समय लिएर बोल्दैमा त्यो प्रभावकारी हुन्छ भन्ने नबुझ्न सांसदहरुलाई आग्रह गरेका छन । आज ( शुक्रबार) संसद भवन नयाँ वानेश्वरमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘यस्तो नहोस् कि आज बोलेको कुरा दुई वर्षपछि आफैँले रेकर्ड सुन्दा के बोले हुँला पछुतो हुने खालको सकभर नहोस्’ । अन्यथा बोल्नका लागि बोल्ने र कहिलेकाहीँ आवेगमा प्रस्तुत हुँदा सांसदको अभिव्यक्ति नै संसदीय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने भएकाले बोल्दा ख्याल गर्नुपर्ने उनको सुझाव छ।

उनले भने, ‘कहिलेकाहीँ आरोपप्रत्यारोपमा जवाफ दिँदा कडै दिउँ भन्ने हिसावले जाँदा त्यो कडा हुँदा हुँदा रेकर्डबाट हटाउनुपर्नेसम्मको कडा भइदियो भने के हुन्छ रु र रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रुपमा लाने विषय बनाउन हुँदैन।’ उनले पछिल्लो समय संसदमा सांसदहरुले व्यक्त गरेका अभिव्यक्ति हटाउने क्रम बढेको बताएका छन ।

यसतर्फ संकेत गर्दै तिमिल्सनाले संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान नहुने बताएका छन । २४ वैशाखमा राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका एमाले सांसद टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर टिप्पणी गरेका थिए।

त्यसमा एमाले सांसदहरुको आपत्तिपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देश गरेका थिए।ख प्रतिनिधिसभामा पनि सांसदले बोलेका अमर्यादित शब्दलाई रेकर्डबाटै हटाउने क्रम बढेको छ।