मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१६ क्रिकेटमा समूह विजेता

१५ असार २०८०, शुक्रबार १५:०८


काठमाण्डौ, १५ असार– एसीसी यू९१६ इस्ट जोन कप क्रिकेटमा अशोक धामीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्न सफल भएको छ । ब्याटिङतर्फ ५२ रन बनाएका धामीले बलिङतर्फ ४ विकेट लिएका थिए ।

समूह चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेसँगै नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३।४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । ९१–७ को कमजोर अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाएका छन ।

नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भएका थिए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए ।

नेपालले निरजकुमार यादवलाई ८ रनमै गुमाएको थियो । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए । स्पीनर मोहम्मद मुकरीले दीपु कुमारलाई १५ रनमा क्याच गराए । उनले ४१ बल खेले । मुकरीको बलमा स्वीप खेल्दा मिस हुँदा सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए ।

मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०।५ ओभरमा ९९ रन बनाउँदै अल आउट भयो ।