कोशीमा प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

१५ असार २०८०, शुक्रबार १४:१८


काठमाण्डौ, १५ असार– एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको टछ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि कार्की नेतृत्वको सरकार ढलेको हो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उनको विपक्षमा ४३ मत परेको छ ।

नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे । आजको बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए । आजको प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहेका थिए ।

जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो । कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।

२०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।