शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्नुपर्छ : शिक्षामन्त्री राई

१३ असार २०८०, बुधबार ११:०९


काठमाण्डौ, १३ असार– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले रास्ट्रको शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले यो आवश्यकता उठाएका हुन् ।

मन्त्री राईले शिक्षा क्षेत्रमा उल्लेखनिय सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा सरकारले प्राथमिकताका साथ अँगाडी बढिरहेको समेत दाबी गरे ।

उनले भने, ‘सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति गर्न नसके देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन सक्दैन । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागी परेको छ । शैक्षिक सुधारका निम्ती उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रयास गरिनेछ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।’