संशोधन विना नै बजेट पास गर्ने तयारीमा सरकार

१३ असार २०८०, बुधबार ०७:४९

काठमाडौं, १३ असार– संशोधन विना नै सरकारले बजेट पास गर्ने तयारीमा लागेको छ । आज (बुधबार) बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकले बजेट पास गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरु माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत भएपछि बजेट पास गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।

एकीकृत समाजवादीका शीर्ष नेताहरुले नै बजेट संशोधन नभए पारित गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा छ । सो पार्टीका अर्का नेता मेटमणि चौधरीले पनि बजेटको पक्षमा मतदान गर्ने बताएका छन् ।