कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकियो

१२ असार २०८०, मंगलवार १५:१६

काठमाण्डौ,१२ असार– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन ९हिस्टुन० को आन्दोलनका कारण बोर्डले उत्तरपुस्तिका परीक्षणको काम रोकेको हिस्टुनका महासचिव शंकर तिवारीले जानकारी दिएका छन ।

१८ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको हिस्टुनका कारण मंगलबारदेखि १९ गतेसम्मका लागि उत्तरपुस्तिका परीक्षण स्थगित भएको हो ।

हिस्टुनका महासचिव शंकर तिवारीले देशभरका परीक्षण केन्द्रमा मंगलबारदेखि १९ गतेसम्मका लागि परीक्षणको कारण रोकिएको जानकारी दिएका छन ।

उनले आफूहरूले आन्दोलन गर्दै आएको र सरकारलाई दबाब दिनका लागि परीक्षणको काम स्थगित गराईदिन अनुरोध गरेको र सोही आधारमा रोकिएको बताएका छन ।

उनीहरुले साबिकको उच्च माध्यमिक विद्यालय तहमा कार्यरत ४ हजारको संख्यामा रहेका अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनेपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

उमावि तहको दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रूपमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतिपस्र्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने उनीहरूले बताएका द्धचछ न बताएका छन ।

त्यसरी विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मानिनुपर्ने उनीहरूको माग छ ।

कार्यरत शिक्षकहरुले स्थायी पदका लागि खुलाइएको विज्ञापनमा सहभागी भएमा वा नभएर पनि स्थायी पदमा आयोगबाट नियुक्तिका लागि सिफारिस हुन नसकेमा त्यस्ता शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्म सेवाबाट बर्खास्त नगरी विद्यालयको नियुक्तिका आधारमा तोकिए बमोजिमको सुविधाको व्यवस्था गर्नुपर्ने समेत माग गरेका छन ।

उनीहरूलाई भविष्यमा निवृत्तिभरण वा उपदान प्रयोजनका लागि समेत विद्यालयका अभिलेख अनुसारको समय गणना गरिनुपर्ने बताएका छन ।

उनीहरूले १९ गतेसम्मका लागि आन्दोलनको घोषणा गरेका छन । त्यो बेलासम्म पनि माग सुनुवाइ गरिएन भने अर्को चरणको आन्दोलन गरिने महासचिव तिवारीले जानकारी दिएका छन ।