काठमाण्डौ,१२ असार– बागमती प्रदेशमा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले बजेटप्रति असन्तुष्टि राख्दै अवरोध गर्ने भएको छ ।
सरकारले बजेटमा सांसदहरूलाई नै विभेद गरेको, असन्तुलित बजेट ल्याएको भन्दै एमालेले आज मंगलबार बस्ने प्रदेशसभा बैठकमा अवरोध गर्ने तयारी गरेको छ ।
आज (मंगलबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०र०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
उक्त कार्यसूची बैठकमा प्रवेश गरे लगत्तै एमालेका सांसदहरूले आसनबाट उठेर विरोध गर्ने एमालेका सांसद प्रकाश श्रेष्ठले जानकारी दिएका छन ।
पक्षपाती ढंगबाट बजेट ल्याएको, भूगोल अनुकूल भन्दा पनि मन्त्री र कार्यकर्तामुखी कार्यक्रममा बजेट ल्याएको भन्दै संसद् अवरुद्ध गर्ने तयारी भएको उनले बताएका छन । उनले भने, ‘बजेट समावेशी र सन्तुलित हुन सकेन । ४ जना मन्त्रीको क्षेत्रमा मात्र बजेट केन्द्रित छ ।
भूगोल, नागरिक अनुकूल बजेट आएको छैन ।’ उनले सोही विषयलाई लिएर एमालेले अन्य विपक्षी दलहरूसँग छलफल गरिरहेको बताएका छन ।
प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए भने सोही दिन बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरू टेबुल गरिएको थियो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
