काठमाण्डौ,१२ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजिएको भन्दै यस्तो नियन्त्रण कदापि स्वीकार्य नहुने बताएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन । उनले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन ।
उनले निर्णय नसच्याएसम्म संसद्को कारबाही अगाडी बढ्न नदिने बताएका छन । उनले भने, ‘लोकतन्त्रको लागि निर्वाचन असाध्यै महत्त्वपूर्ण छ ।
हाम्रो जस्तो हुर्कँदै गरेको लोकतन्त्रलाई यसरी विभिन्न नियम र विभिन्न सरकारको मनोमानीले लोकतन्त्रमाथि यो नियन्त्रण हामीलाई कदापि स्वीकार्य छैन ।
तसर्थ आज हामी सभामुखमार्फत यो संसद्मा अर्थमन्त्रीले जुन निर्णय सरकारले गरेको छ, बजेटमा सरकारले जे ल्याएको छ । त्यो फिर्ता लेओस् र त्यो गल्तीलाई तत्काल स्विकारोस् ।
अन्यथा हामी यो सदनको कारबाही अगाडी बढ्न नदिन बाध्य हुनेछौँ ।’ उनले अर्थमन्त्रीलाई सो निर्णय फिर्ता लिन तत्काल रुलिङ गर्न सभामुख समक्ष आग्रह गरेका छन ।
