काठमाडौ सहर विश्वकै पहिलो प्रदूषित सहरमा परेछि ओलीले गरे चिन्ता व्यक्त

१२ असार २०८०, मंगलवार १०:३६

काठमाडौ, १२ असार– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ सहर विश्वका पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन् ।

ओलीले ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौँ सहर स्वास्थ्यको दृष्टिकोणबाट चिन्ताको विषय भए पनि यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा’वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्विटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ’, ओलीले भने।

उनले काठमाडौँ महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौँलाई यसबाट बचाउन पक्कै केही गरिरहे पनि यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक रहेको बताए ।

प्रदूषण घटाउन सबै मिलेर तत्काल कदम चाल्न आग्रह पनि उनले गरेका छन् । ‘हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ–आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौँ । प्रदूषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔँ’, ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भनेका छन् ।