काठमाण्डौ, ११ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको अधिवेशन उद्घाटन पछि जसपाका अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्न सुरु गरेका थिए ।
अध्यक्ष यादवले समय अभावका कारण विधान मस्यौदाको प्रस्तुति आज मात्र सम्पन्न गरे । प्रस्तुत मस्यौदामाथि छलफलका लागि १० वटा समूह बनाइएको छ ।
विधान मस्यौदामाथि ती समूहले छलफल गरी भोलि प्रत्येक समूहको एक–एक जना नेताले विधानको बारेमा आफ्ना धारणा राख्ने कार्यतालिका रहेको जसपाका प्रवक्ता मनिष सुमनले बताए ।
समूहका नेताबाट आएको सुझावका आधारमा विधानलाई संशोधन गरी पारित गरेर भोलि १२ गते विधान अधिवेशन सकिने कार्यतालिका रहेको उनले बताए ।
जसपाले नयाँ विधानमा ७० वर्ष उमेर हद तोकेको छ । ७० वर्ष उमेर पुगेका व्यक्ति पार्टीको केन्द्रीय सदस्य हुन नपाउने प्रावधान विधानको मस्यौदामा छ ।
विधान मस्यौदाको धारा ८६ मा भनिएको छ, ‘७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन ।’
