१४ असारमा विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको तयारी

११ असार २०८०, सोमबार १४:२३

काठमाण्डौ, ११ असार– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन ।

मुख्यमन्त्री कार्कीले यही १४ असार दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन ।

विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिएका छन ।उनले भने, ‘असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष आज सिफारिस गरेका छौं ’ ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन । अल्पमतमा परेका उनले अध्यादेश मार्फत जेठ ३२ गते प्रदेशको बजेट ल्याएका थिए ।

माओवादी र जसपाले साथ छाडेपछि जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुतपछि प्रदेशको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशको बजेट ल्याएका हुन् ।

नियमित अधिवेशन आह्वान हुँदा विश्वासको मत भन्दा पहिला बजेट अध्यादेश पेश गर्नुपर्ने बाध्यात्यक अवस्था भएका कारण सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गरेको हो ।