म्याग्दी, ११ असार – म्याग्दीका ६ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति, कार्यक्रम र बजेट पारित गरेका छन् ।
गाउँ तथा नगरसभा मार्फत बेनी नगरपालिका, मङ्गला, मालिका, धबलागिरी, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट २ अर्ब २ करोड ५३ लाख ४१ हजार १ सय रुपियाँ बराबरको बजेट पारित गरेका हुन् ।
सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएर जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेट ल्याएका छन् । आइतबार जिल्लाका ६ वटै स्थानीय तहले बजेट पारित गरिसकेका छन् ।
बेनी नगरपालिकाले ७० करोड ८९ लाख रुपियाँको बजेट पारित गरेको छ । चालुतर्फ ५० करोड २७ लाख ७५ हजार र २० करोड ६१ लाख २५ हजार रुपियाँ पूँजीगत तर्फको बजेट पारित भएको छ ।
यसैगरी मङ्गला गाउँपालिकाले चालुतर्फ २८ करोड ३२ लाख ६१ हजार सात सय र पूँजीगततर्फ १६ करोड ४८ लाख ५० हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । धवलागिरी गाउँपालिकाले ४३ करोड ८९ लाख ५४ हजार दुईसय रुपैयाँको बजेट पारित गरेको छ ।
रघुगङ्गा गाउँपालिकाले ४३ करोड बढीको बजेट पारित गरेको छ । १५ औं गाउँ सभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो । बजेटमा चालुतर्फ ३४ करोड ४९ लाख ५७ हजार र र पूँजीगततर्फ ९ करोड ८ लाख ३० हजार विनियोजन भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले साढे ५३ करोड रुपियाँको बजेट ल्याएको छ । असार ८ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको १७ औं गाउँ सभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ३५ करोड ५१ लाख ५९ हजार छ सय र पूँजीगततर्फ १८ करोड दुई लाख ८४ हजार बजेट विनियोजन भएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।
मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपियाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्रमा सम्पन्न भएको गाउँ सभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८००८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो ।
चालुतर्फ २९ करोड ४९ लाख रुपियाँ र पूँजीगततर्फ १६ करोड ३२ लाख ४४ हजार रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्ती मगर पुनले बताउनुभयो ।
