नेपाली सेनाको संख्या कटौती गर्न आवश्यक छैन: रक्षामन्त्री खड्का

११ असार २०८०, सोमबार १३:१७

काठमाण्डौ, ११ असार– उपप्रधान एवं पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन । आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन ।

उनले बहु प्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका छन । उनले भने, ‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको सङ्गठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको ब्यहोरा माननीय सदस्यहरूलाई अवगत नै छ ।

त्यसैले हाम्रो नेपाली सेनाको सङ्ख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहु प्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु ‘हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ ।

त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराहरूको सामना गर्नु परिरहेको छ । बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतङ्कवाद, आर्थिक सङ्कट, महामारी लगायतका सुरक्षा चुनौतीहरूले मानव जीवनमा नै कठिनाइ निम्त्याइरहेका अवस्थाहरू छन् ।’

खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध सङ्गठन भएको र यसले आफ्नो जिम्मेवारी सोही अनुसार निर्वाह गरिरहेको पनि बताएका छन । उनले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको सङ्गठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन ।