काठमाण्डौ, ८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको आरोप लगाएका छन । उनले सत्ता टिकाउनकै लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको बताएका छन ।
आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले प्रधानमन्त्री प्रचण्ड जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाएका छन ।
उनले भने, ‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि ?
भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु । ’ उनले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको बताएका छन ।
