
काठमाण्डौ, ७ असार– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएका बजेट पारित नहुने दाबी गरेका छन । आज बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले सरकारले गठबन्धन दलसँग छलफल नगरी ल्याएको बजेट यथास्थितिमा पारित नहुने बताएका छन । अध्यक्ष यादवले सरकारले बजेट सच्याएर ल्याउनुपर्ने बताएका छन ।
उनले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको भन्दै बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताएका छन । उनले भने, ‘सरकारले गठबन्धनमा रहेका दलहरूसँग छलफल नै नगरीकन बजेट ल्याइएको छ ।
बजेटले पूरै मधेसलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौँ । नसच्याई बजेट पास हुन कठिन छ । त्यसकारण सच्याउनु पर्छ ।’
अध्यक्ष यादवले मुलुकलाई अग्रगामी निकास दिन समाजवादी मोर्चा गठन भएको पनि बताएका छन । उनले विगतका कमी कमजोरीहरुलाई सच्याएर मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताएका छन ।
उनले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरू आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाति, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताएका छन ।
