गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’ दुर्घटना हुन्छ: घनश्याम भुसाल

७ असार २०८०, बिहीबार १६:२३

काठमाण्डौ, ७ असार– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने खतरा भएको बताएका छन ।

मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा आज बिहिबारदेखि काठमाण्डौँमा सुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै नेता भुसालले यस्तो बताएका हुन । उनले वर्तामान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए त्यसको औचित्य समाप्त हुने बताएका छन ।

उनले भने, ‘सुविचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ ।’ उनले इमान्दार तवरले जनतासम्म पुग्न नसक्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन ।

उनले बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास हुनुपर्ने बताएका छन । उनले वर्तमान ‘पपुलिष्ट’ संस्कृतिलाई विस्थापित गर्नका ठूलो शक्ति पैदा हुने तर्क गर्दै महासचिव भुसालले वर्तमान राजनीतिक दलले रोक्न सकेनन् भने अब आउने दिनमा लोप हुनुको विकल्प नरहेको पनि बताएका छन ।

उनले मार्क्सवादी भन्दा पनि भोगवादी समाज निर्माण हुँदै गएको बताउँदै उनले नेतृत्वलाई अन्ध समर्थन गर्दा चेतनास्तर कमजोर देखिएको टिप्पणी गरे ।

मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा भएको गोष्ठीमा मार्क्सवादी केन्द्रका सल्लाहकार गोपीरमण उपाध्यय देशको वर्तमान परिस्थितिलाई बुझेर यहाँको कला संस्कृति, कला, इतिहासको चिन्तन र बहसका विषय बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा अध्ययन संस्कृतिलाई विस्तार गर्दै लैजानुपर्ने बताए । केन्द्रलाई अध्ययन संस्थाका रुपमा विकास गरिनुपर्ने बताएका छन ।