संसदीय समिति सभापति चयनमा दलहरुले बेवास्ता गरे: सभामुख घिमिरे

७ असार २०८०, बिहीबार १५:२७

काठमाण्डौ, ७ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरु चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको बताएका छन ।

उनले समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरुले बेवास्ता गर्दा समस्या भएको पनि बताएका छन । उनले भने, ‘समिति सभापति चयन गर्न राजनीतिक पार्टीहरुले निर्णय दिनुपर्ने हुन्छ ।

यसो नभएका कारण समस्या भएको हो। सभापतिहरु चयन नभएका कारण संसदीय समितिका कामकारबाही प्रभावकारी हुनमा कठिनाइ छन्’ आफूले राजनीतिक दलहरुलाई पटक पटक सभापति चयनका लागि आग्रह गरेको पनि उनले स्मरण गरेका छन ।

१५ जेठमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घिमिरेले औपचारिक रुपमै दलहरुलाई समिति सभापति चयनका लागि ७ दिनको समय दिएको थिए ।

तर, असार दोस्रो साता बितिसक्दा समेत समिति सभापति चयन हुन नसकेको भनी प्रश्न गरेका छन । उनले आफूले दलहरुलाई सबै समितिको एकै पटक सम्भव नभए सम्भव हुने हुदासम्म समितिको सभापति चयन गर्ने विकल्प समेत अगाडि सारेको बताएका छन ।

उनले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले लिने अभ्यास भएकाले त्यसमा समिति सभापति चयन गर्न समस्या नहुने बताएका छन ।