काठमाण्डौ, ७ असार पूर्वीय दर्शनको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ । गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भई मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको बताइएको छ ।
नेपाल वेद विद्याश्रमसँगै निर्माण गरिने अध्ययन केन्द्रको ढाँचा पनि तयार गरिएको कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले जानकारी दिए । नेपाल वेद विद्याश्रमको स्तरोन्नतिसमेत गर्ने गरी अनुमानित रु ८६ करोडको लागतमा अध्ययन केन्द्र निर्माणको ढाँचा तयार पारिएको हो । केन्द्र निर्माणका लागि दाताको सहयोग लिने गरी छलफल चलिरहेको उनले बताए ।
पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयका पुस्तक पनि यहीँ व्यवस्थित गरिने भएको छ । नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको छ ।
