काठमाण्डौ, ७ असार– नेपालले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा बिहीबार वेस्ट इन्डिजको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा जारी छ ।
जारी खेलमा नेपालले टस जिती पहिले वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको छ । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गर्दै छ ।
त्यसैले विश्वकप विजेता रहिसकेको टोलीविरुद्ध बलिङ गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, ललित राजवंशी । नेपालले राजवंशीलाई वेस्ट इन्डिजविरुद्घको खेलमा ओपनर बलरको रुपमा प्रयोग गरेको हो । आफ्नो पहिलो ओभरमा ललितले केवल दुई रन दिएका छन ।
उनको बलमा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रेन्डन किंग र काइले मायर्सले एक–एक रन लिएका छन । यसैगरी करण केसी भने विश्वकप विजेता रहिसकेको टोलीको विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।
ललितपछि दोस्रो ओभर बलिङ गर्न आएका करणले क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान काइले मायर्सको विकेट लिएका छन । करणले आफ्नो पहिलो ओभरको तेस्रो बलमै मायर्सको विकेट लिएका छन । त्यतिबेला वेस्ट इन्डिजले केवल दुई रन बनाएको थियो । मायर्स भने एक रन बनाएर आउट भएका छन ।
