म्याग्दी, ७ असार– म्याग्दीमा रहेका तीन सयवर्ष भन्दा पुराना देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाहरुको संरक्षण गर्न थालिएको छ । यहाँका स्थानीय तहले धार्मिक तथा ऐतिहासिक महत्वका देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण गर्न लागेका हुन् ।
सदरमुकाम बेनीलगायत जिल्लाका छ वटै स्थानीय तहमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा नासिँदै जान लागेपछि स्थानीय तहले मर्मत गरी संरक्षण गर्न थालेका हुन् । लोप हुने अवस्थामा पुगेका र ओझेलमा परेका त्यस्ता सम्पदाको संरक्षण र पुनःनिर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् ।
जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायत स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदाको संरक्षण र प्रचारप्रसारमा स्थानीय निकायले काम गर्न लागेपछि स्थानीय खुसी भएका हुन् ।
“बेनीबजारमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल तीन सय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन्”, स्थानीय नैनकुमार श्रेष्ठले भने । पुराना प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेकाले यीनको संरक्षण गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।
ऐतिहासिक महत्व बोकेका स्थानमा रहेका ढुङ्गेधारा र कुवाको संरक्षण गर्न वडा कार्यालयबाट बजेट विनियोजन गरेर पहल थालिएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवर्द्धनका लागि पहल सुरु गरिएको उनले बताए ।
