कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो ।
उक्त घटनामा भाला र घरेलु हतियार प्रयोग गरी क्रूर र अमानवीय तवरले सुरक्षाकर्मीको हत्या गरिएको थियो । सुरक्षाकर्मीलाई भाला लगायत घरेलु हतियारले घोचेर मारेको अभियोग लागेका कारण उक्त घटना पनि क्रूर र अमानवीय तवरले ज्यान मारेको घटना भनी अदालतले व्याख्या गरेको थियो ।
उक्त घटनाको मुख्य योजनाकार रेशम चौधरी भएको दाबी गर्दै चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा परेको थियो। नेता चौधरी १४ फागुन २०७४ मा पूर्पक्षका लागि जेल चलान भएका थिए। उनलाई धनगढी कारागारमा राखिएको थियो ।
घटनालगत्तै फरार रहेका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा निर्वाचित भएका थिए। उनले ३४ हजार ३४१ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी वाम गठबन्धकी गरिमा शाहले १३ हजार ४०६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।
टीकापुर घटनापछि फरार चौधरीले अदालतसामू आत्मसमर्पण गरेका थिए भने लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासमा भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका थिए।
फरार रहेकै बेला भारत भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उनी चर्चामा आएका थिए । पछिल्लो पटक सरकारबाट उनले डेढ करोड बढी क्षतिपूर्ति पनि पाएका थिए।
सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै ४ जेष्ठ २०८० मा जन्मकैदको सजाय सदर गरेको थियो । तर, सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सदर गरेको ११ दिनमा नेता चौधरी रिहाइ भएका छन् ।
आज गणातन्त्र दिवसको अवसरमा नेता चौधरीले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेलमुक्त भएका छन्।
