संवैधानिक व्यवस्थाअनुसार सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्नुपर्ने हुन्छ । सोही अनुसार अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८०र८१ का लागि बजेट ल्याउने तयारीमा जुटेको छ ।
पहिलो पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छन् । बजेटको पूर्व सन्ध्यामा सरकारले ल्याउने नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदैछ । उक्त नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका हुन् ।
लामो समयदेखि लय समात्न नसकेको नेपाली शेयर बजारका लगानीकर्ता आगामी आवको बजेटले शेयर बजारलाई नयाँ उचाइमा लैजानेमा आशावादी छन् । मौद्रिक नीतिको समीक्षामा प्राथमिकतामा नपरेको शेयर बजार आगामी आवको बजेटले कसरी सम्बोधन गर्ला भन्ने चासोको विषय छ । शेयर लगानीकर्ताले पनि शेयर बजार सुधारका लागि बजेटले आफ्ना मागहरू सम्बोधन गर्नु पर्ने अडानमा छन् ।
आगामी आवको बजेट मार्फत सरकारले पुँजीगत लाभकरका विषयलाई प्राथमिकतामा राख्नुपर्ने शेयर विश्लेषक मुक्ति अर्याल बताउँछन् । उनी भन्छन्, ‘पुँजी बजारका विषयमा समेट्ने त मौद्रिक नीतिले नै हो । तर, बजेट मार्फत पनि सरकारले पुँजीगत लाभकर र शेयर बजार विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने कुराहरू प्राथमिकतामा राखिदिनु पर्छ ।’
बजेटमा आएको नीतिगत परिवर्तनले भन्दा मौद्रिक नीतिमा आएको नीतिगत परिवर्तनहरूले बजारलाई छिटो असर पार्ने उनको भनाई छ । उनले भने, ‘बजेटको असर दीर्घकालीन रूपमा हुन्छ, तत्काल हुँदैन । मौद्रिक नीतिको जस्तो आजको भोलि हुँदैन ।’
आगामी बजेटले करका विषयलाई सम्बोधन गर्नुपर्ने उनको भनाई छ । ‘लाभांश कर, पुँजीगत लाभकर लगायतका कुराहरू छन् । अहिले घाटामा गएको बेलामा पनि पुँजीगत लाभकर तिर्नुपर्ने अवस्था छ । एउटा व्यक्तिगत स्टकमा मात्र नभएर सबै पोर्टफोलियोमा र वार्षिक रूपमा उसलाई कति नाफा र घाटा हुन्छ त्यसका आधारमा तिरिनुपर्छ । बजेटले यी कुराहरूलाई सम्बोधन गरिनुपर्छ ।’
नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले पनि शेयर बजारलाई चलायमान बनाउन आगामी आवको बजेटले बजारमा तरलता सहज गर्न तर्फ लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘आर्थिक मन्दीबाट गुज्रिरहेको मुलुकलाई चलायमान बनाउन अर्थतन्त्रमा सुधार हुनुपर्छ यसका लागि बजेटमार्फत बजारमा देखिएको तरलता सङ्कटलाई सहज बनाउन आवश्यक छ । ब्याजदर पनि घट्नुपर्छ । यसले शेयर बजारमा पनि प्रभाव पार्छ ।’
यसका साथै आगामी बजेटले नेपाल स्टक एक्सचेञ्जमा भएको प्रणालीमा सुधारका विषयलाई पनि सम्बोधन गर्नुपर्ने उनको भनाई छ । ‘हामीले अल्पकालीन र मध्यकालीन लगानीकर्ताहरूलाई पहिलेदेखि नै भन्दै आएका पनि छौँ । नेप्सेमा भएको प्रणालीमा सुधार गर्न आवश्यक छ । बजेटले यी कुरालाई सम्बोधन गर्नुपर्छ’, उनले थपिन् ।
अर्का लगानीकर्ता केशव कोइरालाले पनि आगामी बजेटले विदेशी लगानीकर्ता भित्र्याउने कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘हरेक वर्ष बजेटमा विदेशी लगानीकर्ता भित्र्याउने भनिएको हुन्छ । यो नारामा मात्र सीमित भएको छ । निश्चित समय नै दिएर काम अगाडी बढाउनु पर्यो ।’
यसका साथै उनले शेयर बजारका विषयलाई बजेटले भन्दा पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए । बजेटले शेयर बजारका लागि सम्बोधन गर्नुपर्ने कुरा धेरै नहुने बताउँदै उनले मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सम्बोधन नगरे पनि केही कुराहरूमा खुकुलो नीति बनाउँदै गएको बताए ।
उनले भने, ‘राष्ट्र बैंकले जसरी अर्थ मन्त्रालयले शेयर बजारका विषयलाई समेट्न सक्दैन । अर्थ मन्त्रालयले गर्ने काम घुमाउरो बाटाको हुन्छन् । अर्थतन्त्र चलायमान भयो भने पैसा पनि चलायमान हुन्छ । पैसा चलायमान हुने बित्तिकै यसले शेयर बजारलाई पनि सकारात्मक प्रभाव पार्छ ।’
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय सम्हालेका बेला शेयर बजार उच्च बिन्दुमा पुगेको थियो । अर्थमन्त्री पौडेल शेयर बजार प्रति सकारात्मक रहेको लगानीकर्ताहरूले बताउँदै आएका थिए ।
पौडेल अर्थमन्त्री भएका कारण शेयर बजार बढेको शेयर लगानीकर्ता राधा पोखरेल बताउँछिन् । उनी भन्छिन्, ‘पूर्व अर्थमन्त्री विष्णु पौडेलको दुई कार्यकालमा नै बजार बढेको थियो । अहिले लगानीकर्तामा त्यो छाप बसेको हो । तर, अहिलेका अर्थमन्त्रीलाई लगानीकर्ताले धेरै विश्वास गरेजस्तो लाग्दैन ।’
पोखरेलको जस्तै तर्क राख्छन् अर्का शेयर विश्लेषक मुक्ति अर्याल । ‘विष्णु पौडेल अर्थमन्त्री हुँदा बजार बढेको कुरा सत्य हो । तर, अहिलेको अर्थमन्त्रीले पनि काम गर्नै बाँकी छ । पुँजी बजारका लागि केही राम्रो गरेर नीतिगत सुधार ल्याए भने केही होला । अहिलेको अर्थमन्त्रीबाट पनि बजार बढ्छ भन्ने अपेक्षा त छ ।’
तर, लगानीकर्ता केशव कोइराला भने विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुँदा बजार बढेको कुरालाई स्विकार्दैनन् । उनी भन्छन्, ‘विष्णु पौडेल अर्थमन्त्री भएर शेयर बजार बढेको होइन । हल्लाको भरमा बढाइएको हो । उनी अर्थमन्त्री हुँदा बजार बढे पनि पूर्वाधारको अवस्था अहिले भन्दा पनि नाजुक थियो । बजारका बढ्नका लागि आवश्यक पर्ने पूर्वाधार केही पनि थिएनन् ।’
पौडेल अर्थमन्त्री बनेपछि बजार बढ्छ भन्ने हल्ला फिँजाएका कारण बजार बढाइएको बताउँदै उनी भन्छन्, ‘त्यस बेला पौडेल अर्थमन्त्री बनेपछि बजार बढ्छ भन्ने हल्ला फिँजाए । ठूला लगानीकर्ताले त्यसैलाई भर्याङ बनाएर बजार बढाएको मात्र हो ।’
बजार बढ्नका लागि अहिले धेरै पूर्वाधारहरू तयार भएको उनको दाबी छ । पूर्व अर्थमन्त्री पौडेलले गफ चुटेकै भरमा बजार बढाएको आरोप लगाउँदै उनले भने, ‘पौडेलले अर्थतन्त्र बुझेका थिएनन् । बजारबारे पनि थाहा थिएन । गफ चुटेकै भरमा बजार बढाइएको हो । नयाँ अर्थमन्त्री डा।प्रकाश शरण महत आएर गफ दिएका छैनन्, त्यति मात्रै हो । अहिलेका अर्थमन्त्री पढेका र बुझेका छन्, बुझेका मान्छेले गफ चुट्दैनन् ।’
लामो समयदेखि प्यानिक अवस्थामा रहेको शेयर बजार थोत्रो भाषणले मात्र नबढ्ने पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष पोखरेलको भनाई छ । उनले भनिन्, ‘थोत्रो भाषणले मात्र बजार बढ्नेवाला छैन । शेयर बजार कोमामा गइसकेको अवस्था छ । नर्मल सिटामोलले मात्र काम गर्दैन । एन्टिबाइटिक नै चाहिन्छ ।’
अर्थमन्त्रीले बनाउने नीतिगत कुराहरू बजारप्रति कति सान्दर्भिक आउँछ त्यसले नै भर पर्छ । लगानीकर्ताका अपेक्षालाई बजेटले सम्बोधन गर्यो भने बजार बढ्छ । नत्र यसै भन्न नसकिने उनले बत्ताइन् ।
केही दिन अघि मात्रै लगानीकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग राखेका छन् । १२ करोड रुपैयाँसम्मको शेयर कर्जाको सीमाले धितोपत्र बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि समेत लगानीकर्ताहरूले प्रधानमन्त्री समक्ष अनुरोध गरेका छन् ।
लगानीकर्ता केशव कोइरालाले अब आत्तिने र डराउने बेला विस्तारै सकिन लागेको बताए । उनले भने, ‘शेयर बजारको बटमको छेउमा छौँ । तल झरे पनि धेरै झर्दैन एघार महिनामा पनि बजार जहाँको त्यही केही समयसम्म यसरी नै चल्छ । त्यसपछि अर्को बुलको साइकल शुरु हुन्छ ।’
शेयर बजारले गति लिन नसक्नुमा राष्ट्रको नीति बाधा बनेको शेयर विश्लेषक मुक्ति अर्यालको आरोप छ । उनले भने, ‘अहिले लगभग डेढरदुई वर्षदेखि बजार तल हुनुमा बजेट र सरकारको गतिविधिले भन्दा पनि राष्ट्र बैंकको मौद्रिक नीतिले धेरै नकारात्मक असर गरेको छ । बजारलाई चलायमान बनाउने हो भने मौद्रिक नीतिमा नै नीतिगत परिवर्तनहरु आउनुपर्छ ।’
शेयर बजारको पाटोमा अहिलेका अर्थमन्त्रीको परिणाम नदेखिनुमा राष्ट्र बैंकको दोष देखाउँदै उनी भन्छन्, ‘अर्थमन्त्रीको परिणाम नदेखिनुको कारण पनि राष्ट्र बैंक नै देखिन्छ । लगानीकर्ताहरू मौद्रिक नीति प्रति खुसी भएनन् र राष्ट्र बैंकप्रति ढुक्क हुन सकेनन् ।’
राष्ट्र बैंकले जुनसुकै बेला नीति फेरिदिने र बजारलाई असर पार्ने खालको नीति ल्याइदिने त्यो सम्भावना रहेको उनको भनाई छ । राष्ट्र बैंकको नीति, व्यवहार र गतिविधिबाट बजार त्रसित रहेको उनी बताउँछन् ।
‘यो कुरा हटाउनका लागि राष्ट्र बैंकबाट नै नीतिगत परिवर्तन आउनुपर्छ । मौद्रिक नीतिको समीक्षामा पनि पुँजी बजारलाई सम्बोधन गरेको छैन । यसले गर्दा पनि बजारप्रति राष्ट्र बैंक नकारात्मक छ । जुनसुकै बेला बजारका गलत नीति ल्याइदिन्छ भन्ने कुराले लगानीकर्ताहरू डराएका छन्’, उनले भने ।
केही दिन यतादेखि शेयर बजारले लय समातेको छ । शेयर बजार बढ्नुको कारण ब्याजदर घट्नु रहेको उनको भनाई छ । साथै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा अर्को मौद्रिक नीतिमा शेयर बजारको विषयलाई सम्बोधन गर्छु भनेका कारण पनि बजारले गति लिन थालेको हुनसक्ने उनले बताए ।
‘१८ सयको बिन्दुबाट बजार जहिले पनि फर्किएको छ । त्यसभन्दा तल झरेको छैन, त्यसकै निरन्तरता हो पनि भन्न सकिन्छ । बजेट आउँदैछ । यसको आशमा पनि बजार फर्किन थालेको हुनसक्छ । यसका साथै आर्थिक वर्ष पनि सकिन लागेको छ । यो बेला पनि बजार बढ्ने पहिले देखिको प्रवृत्ति छ’, उनले भने ।
अर्थ न्युज बाट सावार
