हज कमिटीका कागजपत्र बाहिरै मगाएर काम गरिरहेको बेला समातिए अध्यक्ष मियाँ

४ जेष्ठ २०८०, बिहीबार १४:५७

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ प्रहरीको खोजी सूचीमा थिए । प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका उनी बिहीबार बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परे ।

ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार मियाँ मोबाइल अफ गरेर बसे पनि सचिवालयबाट विभिन्न कागजपत्रहरुले सूचना केही दिन अघि आएको थियो । ‘केही नजिकका कर्मचारीलाई कागज पत्र मागेर हस्ताक्षर गर्दै पठाउने गरेको पाइएपछि गोप्य निगरानी बढाएका थियौं’, एक प्रहरी अधिकृत भन्छन्, ‘त्यस क्रममा आज ऊर्जा मन्त्रालयमा बसेर काम गर्न खोज्दा पक्राउ गरिएको हो ।’

प्रहरीका अनुसार उनी कागजपत्रसहित पक्राउ परेका हुन् । हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् ।
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीमार्फत प्रकरणका विचौलियाहरुसँग जोडिएका मियाँले आफूले प्रयोग गर्ने गरी गृह मन्त्रालयबाट लिएको गाडी ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई दिएका थिए ।

बीएबी १४०५ नम्बरको उनको गाडीमा भण्डारी, दुलालहरुले चितवनसहित विभिन्न स्थानमा पुगेर पीडितहरुसँग रकम उठाएका थिए । कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई लगेर गणनामा छुट शरणार्थीको फारम उनीहरुले भराएका थिए ।