प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् ।
बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियाली सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे । उनले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो समेत दिएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र यसमा आधारित उद्योगहरूको विकास तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो ।
मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियाली सरकार र जनताकोे सहयोग निरन्तर रहने विश्वास समेत दिलाए ।
