प्रहरीलाई कसैको दबाबमा नपरी काम गर्न निर्देशन दिएको छु : गृहमन्त्री श्रेष्ठ

२ जेष्ठ २०८०, मंगलवार १५:५२

नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् ।

गृहमन्त्री श्रेष्ठले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरेर काम गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले अहिले प्रहरीले निष्पक्ष रूपमा काम गरिरहेको पनि बताए । अब भ्रष्टाचारका अन्य प्रकरणहरूको पनि अनुसन्धान हुने उनको भनाइ छ । उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको बताए ।

‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थीको रूपमा विदेश पठाउने र त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पति आर्जन गर्ने काम भएको कुरामा अहिले सरकाकर, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । यो मुल स्प्रिडलाई केन्द्रबिन्दुमा राखेर यो प्रक्रिया अघि बढाएका छौँ’, उनले भने ।

मन्त्ती श्रेष्ठले अनुसन्धानलाई टुंगोमा पुर्‍याएर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।