भुटानी शरणार्थी प्रकरणमा फरार हँदै अनुसन्धानमा सहयोग गर्ने बताएका बादलका छोरा कहाँ गए ?

३१ बैशाख २०८०, आईतवार ११:५५

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा संलग्नताको विषय सार्वजनिक भएपछि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापाले एउटा वक्तव्य जारी गरे। वक्तव्यमार्फत् थापाले अनावश्यक रुपमा आफ्नो नाम मुछिएको दाबी गरेका थिए।

आफ्नो संलग्नता रहेको भनेर सार्वजनिक भएको विषयमा सत्यता नरहेको र अनुसन्धानमा सहयोग गर्ने बताउँदै उनले वैशाख २१ गते वक्तव्य जारी गरेका थिए।

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु। तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ थापाले विज्ञप्ति निकालेर भनेका थिए ।

अनुसन्धानमा सहयोग गर्छु भनेर विज्ञप्ति निकालेको १० दिन बितिसक्दा समेत उनी फरार छन्। अनुसन्धानमा सहयोग गर्ने भन्दै विज्ञप्ती निकालेको बेला पनि प्रतीक ‘भूमिगत’ थिए।

यो ठगी गिरोहका सदस्य पक्राउ पर्न सूरु भएदेखि नै प्रतीक फरार रहेको प्रहरी स्रोतले जनाएको छ । ठगी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जनालाई पक्राउ गरेपछि नै प्रतीक सम्पर्कबिहिन रहेको प्रहरी स्रोतको भनाइ छ ।

फरार हँदै उनले विज्ञप्ती जारी गरेर आफ्नो संलग्नता नरहेको दाबी गर्दै अनुसन्धानलाई सहयोग गर्ने बताएका थिए । तर अहिलेसम्म फरार रहेकाले प्रहरीले प्रतीकको खोजी पनि तिव्र ध्यान दिइरहेको छ । यो प्रकरणमा चैत १२ गते ३ जना पक्राउ परेपछि उनी भारत पुगेको बताइएको थियो । त्यहाँबाट उनी कहाँ पुगे भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् ।