शुभद्रा फाउन्डेसनका सञ्चालक मदन राई यौन दुर्व्यवहारको आरोपमा पक्राउ

२९ बैशाख २०८०, शुक्रबार १४:१४

बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् ।

बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएसँगै शुक्रबार प्रहरीले ७५ वर्षीय राईलाई पक्राउ गरेको हो ।

राईलाई खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए । राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङकै हिसारतमा राखिएको डीएसपी मुकारुङले बताए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ । कृषि विज्ञका रूपमा परिचित राईले आफैँले खोलेको फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको सम्बन्धी समाचार बिहीबार सेतोपाटी डटकमले प्रकाशित गरेको थियो ।

फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले किशोरी तथा बालिकाका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने र नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको पीडित किशोरीहरूले बताएका छन् ।