नेकपा एमालेका सांसद वासुदेव घिमिरेले आगामी बजेटमा लोकल रक्सी र गाँजाखेतीलाई प्रर्वद्धन गर्नेगरी बजेट ल्याउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी बजेट तयारी बारेको छलफलमा बोल्दै सांसद घिमिरेले यस्तो आग्रह गरेका हुन् । विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको विषयमा भइरहेको छलफलमा सहभागी जनाउँदै सांसद घिमिरेले आगामी आर्थिक वर्षका लागि यथार्थ, वस्तुपरक र वैज्ञानिक खालको नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गरे ।
मुलुक आर्थिक संकटको अवस्थामा रहेको बेला कस्तो बजेट ल्याउनुपर्छ भन्ने विषयमा बहस केन्द्रीत गर्न आवश्यक रहेको बताए । उनले भने– ‘मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दर रेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गरी आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि बजेट ल्याउनुपर्ने बताए ।
मुलुकमा आम जनता आर्थिक मन्दीको सिकार भइरहँदा केही मुठ्ठीभर ब्यापारी घरानाको सम्पत्ति अस्वभाविक रुपमा बढ्दै जानुको कारण नीतिगत विचलनका माध्यमबाट दलाल नोकरशाही पुँजीवादको विकास हुँदै जानु हो । यसकारण आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रलाई समेटेर ल्याइनुपर्दछ ।
उनले नेपालको वातावरण, वन पैदावरबाट आर्थिक समृद्धि हासिल गर्ने क्षेत्र रहेको बताए । उनले विदेशी मदिराको आयातमा रोक लगाई स्वदेशी मदिरालाई ब्रान्डिङ गरी विदेशी बजारमा पुर्याउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
उनले गाँजा खेतीलाई प्रोत्साहन गर्ने बजेट ल्याउन पनि आग्रह गरे । उनले भने– ‘विश्वका कतिपय मुलुकले अभ्यास थालिसकेको गाँज खेतीलाई वैधानिकता दिने काम गरेका छन्, नेपालमा पनि त्यसको सुरुवात हुन आवश्यक छ ।’ सांसद घिमिरेले पूर्व विशिष्ट पदाधिकारीलाई दिइँदै आएको सुविधा रोक्नका लागि पनि आग्रह गरे ।
