नेप्से आज भारी अंकले गिरावट, ८२ करोडको सेयर कारोबार

२५ बैशाख २०८०, सोमबार १६:१७

नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स ०.६८ प्रतिशतले घटेर ३५२.३७ अडिएको छ। नेप्‍से घटेपनि सेयर कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ ।

आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ करोड १ रुपैयाँमा कारोबार भयो ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सो दिन नेप्सेपरिसूचक १९.१२ अंकले घटेर १८५०.६१ विन्दुमा पुगेको थियो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढि सेयर कारोबार भयो। सो कम्पनीको मूल्य ८.०५ प्रतिशतले बढ्यो ।

यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार ६.०८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ७८ लाख बराबर मूल्यको सेयर कारोबार भयो ।

२ करोड २५ लाख मूल्यको कारोबार गरी हिमाल दोलखा हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा रह्यो। यसदिन होटल्स एन्ड टुरिजम इन्डेक्सको सेयर मूल्य सर्वाधिक २.४४ प्रतिशतले ओरालो लाग्यो ।

फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १ प्रतिशत बढिले घट्यो ।