श्री एयरलाइन्सका इन्जिनियर निलम्बित, जहाजको उडानमा रोक

२५ बैशाख २०८०, सोमबार १४:४८

भैरहवाबाट उडेको विमानमा समस्या आएपछी १० मिनेटमै अवतरण गरेको श्री एयरलाइन्सको जहाजका मेन्टेनेन्स इन्जिनियर निलम्बनमा परेका छन् ।

सोमवार बिहान भैरहवाबाट उडान गरेको श्री एयरलाइन्सको ९एन एएनई कलसाइनको जहाजमा समस्या देखिएको थियो ।

उक्त समस्या देखिएको विषयमा मेन्टेनेन्स इन्जिनियरलाई जिम्मेवार बनाउँदै जहाजको चेक जाँच गर्ने इन्जिनियरलाई निलम्बन गरिएको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार श्रीको उक्त जहाजको उडानमा रोक लगाइएको छ भने इन्जिनियरलाई पनि कारवाही गरिएको छ ।

श्री एयरलाइन्सको यही जहाजमा २ दिन अगाडि धनगढी विमानस्थलबाट उडान गर्ने क्रममा समस्या देखिएको थियो । जहाजमा समस्या देखिएको भन्दै प्राधिकरणले सोमवार भएको घटनाको विषयमा थप अध्ययन गर्न इन्जिनियरलाई रोस्टरबाट हटाएको जानकारी दिएको छ ।