आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन् ।
सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।
‘जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्’, सांसद केसीले भने, ‘यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।’
सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताए । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताए । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए ।
‘कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ’, उनले भने ।
आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले हात्ती आतङ्कको विषय उठाएका थिए । बारा जिल्लामा करिब एक हप्तादेखि हात्ती आतङ्क चलिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा उनले संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद अञ्जनी श्रेष्ठले चितवनका व्यवसायी शङ्कर कँडेलको आत्महत्याबारे गम्भीररुपले छानबिन हुन नसकेको विषय उठाइन् । त्यस्तै सांसद अनिता देवीले स्यानिटरी प्याडको मूल्य महँगो भएको भन्दै यसमा शून्य करको व्यवस्था गरिनुपर्ने धारणा राखिन् ।
‘स्यानिटरी प्याड विलासिताको वस्तु नभएर आधारभूत आवश्यकताको वस्तु हो । यसकारण स्यानिटरी प्याडमा अहिले लागिरहेको सबै कर हटाएर शून्य करको व्यवस्था गरिनुपर्छ’, नले भनिन् ।
सांसद अनिसा नेपाली र आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने बताइन् । अहिले बजारमा भारतीय तरकारी छ्याप्छ्याप्ती रहेको तर नेपाली उत्पादनले बजार नपाएको उल्लेख गर्दै सांसद नेपालीले आन्तरिक उत्पादन बढाउन र बजार खोज्नका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् ।
सांसद आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई बढावा दिन जल, मल, बीउ, विषादी समयमै उपलब्ध गराउन आवश्यक रहेको बताइन् । त्यस्तै भूमिहीन सुकुम्बासीका समस्यालाई पनि सरकारलाई गम्भीररुपमा लिनुपर्ने उनको भनाइ छ ।
