परराष्ट्रमन्त्रीलाई बेलौरी नाका सञ्चालन गर्न ज्ञापनपत्र

१९ बैशाख २०८०, मंगलवार १२:३९

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी भन्सार नाका सञ्चालन गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाइएको छ । बेलौरी नगरपालिकाले सोमबार बेलौरी पुगेका परराष्ट्रमन्त्री साउदलाई भन्सार नाका विस्तारको माग सहित ज्ञापनपत्र बुझाइएको हो ।

बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले मुख्य गरेर भन्सारनाका सञ्चालन, भारतीय एसएसबीले बेलौरी नगरपालिका–८, पचुईस्थित हुलाकी सडक र सोही सडकमा विद्युत् विस्तारमा अवरोध पुर्‍याएको भन्दै सडक र विद्युतको माग अघि सार्नुका साथै बेलौरीको सीमा विवाद टुंग्याउनुपर्ने विषय अघि सारेर ज्ञापनपत्र बुझाएको बताए ।

‘हामीले पहिल्यैदेखि बेलौरी नाका विस्तारको माग अघि सार्दै आएका छौँ, ‘मेयर चौधरीले भने, ‘यसै सिलसिलामा आज परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ ।’ भारतसँग जोडिएको सीमा समस्यासमेत रहेको विवाद निरूपणका लागि मेयर चौधरीले परराष्ट्रमन्त्रीलाई आग्रह गरेका छन् ।

बेलौरी नाका छोटी भन्सार भए पनि भारत खजुरियामा नहुँदा पारवहनमा समस्या भइरहेको छ । बेलौरी छोटी भन्सार पनि एक वर्षदेखि बन्द रहेको छ । बेलौरी छोटी भन्सार कैलाली भन्सार मातहत लिएसँगै गत २०७९ वैशाखदेखि कैलाली भन्सारले ताला लगाएर कार्यालय बन्द राखेको छ ।

नगरपालिकाले दिएको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री भारत भ्रमणका वेला बेलौरी नाका विस्तार, हुलाकी सडक विस्तार, विद्युत् विस्तारमा आएका समस्यासहित विविध सीमा समस्या निरूपणका लागि भारतसँग प्रस्ताव अघि सारेर समाधान गर्ने वचन दिएको मेयर चौधरीले बताए ।