सत्तारूढ दलका कार्यकर्ता र पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको संलग्नतामा आफूमाथि ढुंगामुढा भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
केही दिनअघि कोशी प्रदेशका झापालगायत केही ठाउँमा ओलीमाथि कालोझन्डा देखाउदै उनको विरोध भएका थिए। आफूमाथि निरन्तर आक्रमण प्रयास भइरहे पनि सरकार मुकदर्शक बनेर बसेको ओलीको भनाइ छ।
आइतबार पार्टीनिकट अखिल नेपाल किसान महासंघले च्यासलमा गरेको कार्यक्रममा बोल्दै ओलीले सत्तारूढ दलका नेता तथा कार्यकर्ता र पूर्वराजाका परिवारकै संलग्नतामा आफूमाथि आक्रमण प्रयास भइरहेको दाबी गरेका हुन्।
उनले उदण्ड, अराजनीतिक खालका गतिविधिलाई सरकारले नियन्त्रण नगरेको पनि बताएका छन्। ‘सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरे। हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रूख ढालेर छेक्न खोज्ने, ढुंगा हान्ने, भिडन्त गर्न आउनेजस्ता गतिविधिलाई सरकारले नियन्त्रण गरेन,’ ओलीले भने।
