निरा आचार्य हत्या आरोपीलाई काठमाडौं ल्याइँदै ,ती आरोपी को हुन त ?

१७ बैशाख २०८०, आईतवार १४:०७

काठमाडौंको कपन सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्रकार सम्मेलन गर्ने भएको छ।

आइतबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्ने तयारी छ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विनोद विकलाई झापाबाट पक्राउ गरेको छ। उनलाई आजै काठमाडौं ल्याइँदैछ।
उनले नै हत्या गरेको हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरीले यस घटनाको अनुसन्धान गर्न सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति बनेको थियो। त्यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको थियो।

एक हप्तासम्म पनि अनुसन्धानबाट क्लू फेला पार्न प्रहरीलाई कठिन भएको थियो। तर नजिकै रहेका सिसिटिभी फुटेजलाई विश्लेषण गरी प्रहरीले अभियुक्त पत्ता लगाएको हो।

पक्राउ परेका व्यक्ति नाइट क्लबमा काम गर्ने बाउन्सर थिए।

मृतक निरा आचार्य सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्। त्यहाँ वैशाख ७ गते दिउँसो पौने ३ बजे र सवा ३ बजे बीचमा हत्या भएको थियो।

साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। निरामाथि कम्तिमा पनि १८ पटक विभिन्न ठाउमा धारिलो हतियार प्रहार भएको थियो।