प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पूर्वगृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।
गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित प्रनिनिधि सभा सदस्य लामिछानेलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले खाँदा लगाइदिएर बधाई दिएका हुन् ।
भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक भोलि बस्दैछ । बैठकको पूर्वसन्ध्यामा लामिछाने दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । रास्वपाको केन्द्रीय बैठक अघि २ नेताबीच भएको भेटवार्ता निकै महत्वपुर्ण भएको बुझिएको छ ।
शुक्रबार सांसद पदको सपथ लिएपछि लामिछाने बोलेका थिए, ‘सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढिनेछ। भ्रष्टाचार अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकामा हाम्रो आपत्ति छ। त्यसलाई पुनः समेटिनुपर्छ।’
आजको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकामा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ। प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निर्वाचित भएलगत्तै टेलिफोनबाट बधाइ दिनुभएको थियो, आज भेटेरै बधाइ दिनुभयो।’
सभापति लामिछानेले रास्वपाको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ। मुलुकमा विद्यमान चुनौती मिलेर सामना गर्न र अहिलेको संकटबाट पार लगाउन प्रधानमन्त्रीले गरेको आग्रह लामिछाने स्वीकारेको प्रचण्डको सचिवालयले प्रस्ट्याएको छ।
