रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि बस्दै

१७ बैशाख २०८०, आईतवार १२:३३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि (सोमबार) बस्ने भएको छ।

भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो।

शनिबार पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको बताइएको छ।

उपनिर्वाचनबाट पुनः निर्वाचित भएर आएका पार्टी सभापति रवि लामिछाने आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका थिए।

केन्द्रीय समितिको बैठक अघि रवि र प्रधानमन्त्री प्रचण्डको यस भेटलाई निकै अर्थपूर्ण तरिकाले लिईएको छ।

प्रचण्ड रास्वपालाई फेरि सरकारमा सहभागी गराउन लागि परेका छन् भने रास्वपाले यस विषयमा कुनै निष्कर्ष निकालेको छैन।