उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसदहरु रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले आज शपथ लिने भएका छन्।
लामिछाने चितवन २ बाट र वाग्ले तनहुँ १ बाट निर्वाचित भएका उनीह्रुले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।
उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउनेछन्। यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता विवादमा पदमुक्त भएपछि रिक्त सो स्थानका लागि बैशाख १० गते उपनिर्वाचन भएको थियो। उपनिर्वाचनबाट लामिछाने पुनस्निर्वाचित भएका हुन्।
यसैगरी तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो स्थान खाली त्यो। रिक्त सो स्थानका लागि उपनिर्वाचन भएको थियो। त्यहाँ रास्वपाबाट वाग्ले निर्वाचित भएका हुन्। वाग्ले कांग्रेस त्यागेर उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएका थिए।
यस्तै बारा २ मा सत्तागठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।
