नेपालले ओमानलाई दियो विशाल लक्ष्य

८ बैशाख २०८०, शुक्रबार १३:२९

एसिसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली नेपालले कीर्तिमानीका साथ ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो । सो आज भंग हुँदै विशाल लक्ष्य बनेको हो ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३११ रन बनाएको हो ।

नेपालको सुरुवात भने सुखद हुन सकेन । नेपालले खाता नखोली २ विकेट गुमाएको थियो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख शून्य रनमै आउट भएका थिए । त्यो बेला नेपालले ३।४ ओभर खेलिसकेको थियो ।

त्यसपछि आएका ब्याटरले सम्हालिएर खेलेपछि नेपालले उच्च योगफल बनाएको हो ।

नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै ५९ बलमै शतक बनाए । उनी ६४ बलमा १०८ रन बनाउँदै आउट भए ।

यस्तै, सोमपाल कामीले पनि विष्फोटक ब्याटिङ गरे । उनले अर्धशतकीय पारी खेल्दै ४८ बलमा ६३ रन बनाए ।

यसैगरी, भीम सार्कीले ३३ जोडे । त्यसैगरी, करण केसी र आरिफ शेखले समान २९ रन बनाए । अन्तिमतिर आएका करणले १५ बलमै २९ रन बनाएका हुन् ।

त्यस्तै, कप्तान रोहित पौडेलले २३, सन्दीप लामिछानेले ८ तथा दीपेन्द्रसिंह ऐरीले ७ रन जोडे ।

केहीबेरपछि नेपालले फिल्डिङ गर्नेछ ।