उपनिर्वाचनको लागि सम्पूर्ण तयारी भएको निर्वाचन आयोगले जनाएको छ। यही वैशाख १० गते आइतबार तीन वटा क्षेत्रमा उपनिर्वाचन हुदै छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सम्पूर्ण तयारी पूरा भएको हो ।
मतदान स्थलमा निर्वाचनका लागि सम्पूर्ण सामग्री पुगिसकेको उनले बताए। यस्तै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गर्नका लागि बिहीबार रातिदेखि मौन अवधि सुरु हुने जानकारी दिए।
उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ।बारा निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव,एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका नेता रमेश खरेल उम्मेदवार रहेका छन् ।
तनहुँ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट कांग्रेसका नेता गोविन्द भट्टराई, एमालेका नेता सर्वेन्द्र खनाल र रास्वपाका नेता डा स्वर्णीम वाग्ले उम्मेदवार रहेका छन् । यस्तै चितवन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट कांग्रेसका नेता उमेश श्रेष्ठ, एमालेका नेता रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार रहेका छने ।
